अध्यक्ष तथा सदस्यहरू

सदस्य

डा. झमक प्रसाद शर्मा

जन्मस्थल र स्थायी ठेगाना चैनपुर नगरपालिका वार्ड नं. ११, फलाँटे, सङ्खुवासभा भएका र हाल गठ्ठाघर, भक्तपुरमा बसोबास गरिरहेका डा. झमकप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालयबाट कानूनमा विद्यावारिधि गर्नाको साथै कानून, समाजशास्त्र, जनप्रशासन र नेपाली साहित्यमा अलग अलग स्नातकोत्तर तथा अंग्रेजी शिक्षणमा बी. एड. समेत उत्तीर्ण गर्नुभएको छ । नेपाल सरकारबाट मिति २०८१।३।१० देखि यस आयोगको सदस्य पदमा नियुक्ति हुनुभन्दा पहिले वहाँ स्वतन्त्र व्यवसायीको रुपमा ८ वर्षसम्म अधिवक्ता तथा नोटरी पव्लिक (अनुवादक)को रुपमा सक्रिय हुनुहुन्थ्यो । त्यसभन्दा पहिले वहाँ नेपाल सरकारको निजामती सेवातर्फ प्रशासन सेवाको शाखा अधिकृत पदमा रही कार्यालय प्रमुखको रुपमा ११ वर्ष,  न्याय सेवाको उपसचिव पदमा १४ वर्ष र न्याय सेवाको सहसचिव पदमा ९ वर्ष बिभिन्न मन्त्रालयहरु तथा आयोगहरुमा कार्यरत रहेर जम्मा ३४ वर्षको अनुभव हासिल गरी न्याय सेवाको सहसचिव पदबाट सेवानिवृत्त हुनुभएको थियो । यसको अलावा वहाँको कृषि विकास बैङ्कको लेखपाल पदमा ४ वर्ष र सरकारी शिक्षकको रुपमा ५ वर्षको अनुभव समेत रहेको छ । वहाँले प्रशासन, व्यवस्थापन, कानूनी मस्यौदा लगायतका दुई दर्जनभन्दा बढी सेवा सम्बन्धी स्वदेशी तथा विदेशी औपचारिक तालीमहरु हासिल गर्नुभएको छ ।

वहाँका बिभिन्न पत्रपत्रिकामा प्रशासन तथा कानूनसम्बन्धी लेखहरु प्रकाशित हुनुको अलावा पुस्तकाकार कृतिको रुपमा हालसम्म नेपाली अङ्ग्रेजी उखान कोश, उखानमूलक लोककथाको सँगालो, बृहत् नेपाली उखान भण्डारण, देबकोटाको मुनामदन (समानान्तर झ्याउरे भाकामा अँग्रेजीमा अनुवाद), उ रनपाओ (चीनका बिख्यात किसान नेताको जीवनी नेपालीमा अनुबाद), होटल तथा डाइनिंग हलमा बोलिने अंग्रेजी (नेपाली, चिनियाँ र अङ्ग्रेजी त्रिभाषीय पुस्तकको नेपाली अनुबाद) र मुगाको चोलो (सामाजिक कथासंग्रह) गरी ७ वटा पुस्तक प्रकाशित छन् । वहाँले नेपालका अधिकांश जिल्लाहरु र विदेशतर्फ भारत, भुटान, चीन (मुख्यभूमि, हङ्गकङ्ग र मकाउ समेत), जापान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, स्विजरलैण्ड, थाइलैण्ड, इथियोपिया र लाओसको भ्रमण गर्नुभएको छ । हाल वहाँ यस आयोगमा कानून विषयको सदस्यको रुपमा कार्यरत हुनुहुन्छ ।