डा. मधुसुधन अधिकारीको जन्म सन् १९६७ नोभेम्बर २४ गण्डकी अञ्चल, कास्की जिल्लाको पर्यटकीय गाउँ धम्पुसमा भएको हो । सन् १९९२ मा भारतको चण्डीगढस्थित पञ्जाव इञ्जिनियरिङ्क कलेजबाट मेकानिकल इञ्जिनियरिङ्कको अध्ययन पूरा गर्नुभएका डा. अधिकारीले सन १९९५ मा त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए., सन् २००३ मा नेदरल्याण्डको मास्ट्रिच स्कुल अफ म्यानेजमेन्टबाट दोस्रो एमबिए,त्यसैगरी २०१०मा काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टबाट एमफिल गरी२०२१ अगष्टमा त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ्ग अध्ययन संस्थानबाट ऊर्जा व्यवस्थापन विषयमा विद्यावारिधी उपाधी हासिल गर्नुभएको हो । जलविद्युत, नवीकरणीय ऊर्जाको नीतिगत सवालमा विशेष दख्खल राख्नुहुने डा. अधिकारीको जलविद्युत विकास, ग्रामीण विद्युतीकरण र नवीकरणीय ऊर्जाको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरी ३० वर्षभन्दा बढीको अनुभव रहेको छ ।
सन् १९९२ मा युनाइटेड मिसन टु नेपालको सहयोगमा सञ्चालित डेभलपमेन्ट एण्ड कन्सल्टेन्सी सर्भिस, बुटवलबाट लघु जलविद्युत प्रोजेक्ट इञ्जिनियरको रुपमा नेपालको ग्रामीण विद्युतीकरणको क्षेत्रमा पेशागत प्रवेश गर्नुभएका डा. अधिकारीले सन् १९९६ सम्म सोही संस्थामा कार्य गर्नुभयो । सन् १९९६ देखि सन् २००६ सम्म नेपाल हाइड्रो इलेक्ट्रिक (एन.एच.इ) लिमिटेड बुटवल पावर कम्पनी लिमिटेडको सहायक कम्पनीमा इञ्जियिनरिङ्ग प्रोजेक्ट म्यानेजमेन्ट विभागको व्यवस्थापकको रुपमा कार्य गर्नुभएको थियो । सो अवधिमा उहाँले पुवाखोला (६.५ मेगावाट) खिम्ती (६० मेगावाट), मोदीखोला (१४.८ मेगावाट), चिलिमे (२२ मेगावाट), कालीगण्डकी (१४४ मेगावाट), मध्यमस्र्याङ्दी (७० मेगावाट) जस्ता जलविद्युत आयोजना निर्माणको लागि कार्यरत संस्थाको तर्फबाट कम्पनीले लिएको कामका नेतृत्व गर्नुभएको थियो ।
सन् २००६ देखि २०१२ सम्म नेपाल सरकार र डेनमार्क तथा नर्वे सरकारको सहयोगमा सञ्चालित ऊर्जा क्षेत्र सहयोग कार्यक्रममा सौर्य ऊर्जा कम्पोनेन्टको म्यानेजरको रुपमा कार्य गर्नुभयो । डा. अधिकारीको कार्यकालमा नेपालका ७ लाख घरधुरीमा सौर्य ऊर्जाको पहुँच पुगेको थियो । सन् २०१२ देखि २०१५ जुलाइसम्म नेपाल सरकार र विभिन्न दातृ निकायको सहयोगमा सञ्चालित राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम अन्तर्गत सामुदायिक विद्युतीकरण कम्पोनेन्टको राष्ट्रिय सल्लाहकारको रुपमा कार्य गरी करीब १००० वटा लघु तथा साना जलविद्युत आयोजनाहरु सम्पन्न गरी ग्रामीण विद्युतीकरणमा थप योगदान पुर्याकउनुभयो ।त्यस्तै सन् २०१५ देखि सन् २०१६ सम्म राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमको समग्र सञ्चालन पक्षको संयोजनको जिम्मेवारी सहित राष्ट्रिय सल्लाहकारको रुपमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नवीकरणीय ऊर्जा क्षेत्रको संस्थागत सुधारको कार्य गर्नुभयो ।
सन् २०१६ फेब्रुअरी देखि जुलाई महिनासम्म एशियाली विकास बैंक (एडिबी)को नेपाल स्थित कार्यालयमा वरिष्ठ नवीकरणीय ऊर्जा विज्ञको रुपमा छोटो अनुभवपछि सन् २०१६ को मे देखि सन् २०१९ को फेब्रुअरी सम्म विश्वबैंकको तर्फबाट म्यानमारको नेशनल इलेक्ट्रिफिकेशन प्रोजेक्टमा अन्तराष्ट्रिय सल्लाहकारको रुपमा कार्यरत भई करीब २ लाख घरधुरी र ५० हजार संस्थाहरुमा सौर्य प्रणाली जडान गर्न प्रमुख भूमिका निर्वाह गर्नुभयो । डा. अधिकारीलेसन् २०१९ फेब्रुअरी ६ तारिखदेखि सन् २०२३ को फेब्रुअरीसम्म वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकको रुपमा कार्य गर्नुभयो। नेपाल सरकारले डा. अधिकारीलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा गरेको कार्यकारी निर्देशकको भूमिकाको उच्च सम्मान गर्दै सुप्रसिद्धजनसेवाश्री पदकबाट विभुषित गरेको छ ।ऊर्जा वित्त (Energy Financing) मा समेत विशेष दख्खल राख्नुहुने डा. अधिकारी एन.एम.बि. लघु वित्त संस्था लिमिटेडको अध्यक्ष तथा नेपाल इनर्जी फाउण्डेसनको बोर्ड सदस्यको रुपमा समेत कार्य गरिसक्नुभएको छ ।हाल उहाँ यस आयोगको सदस्य पदमा कार्यरत हुनुहुन्छ ।
डा. अधिकारीको ऊर्जा क्षेत्रको नीतिनिर्माण, व्यवस्थापकीय तथा नेतृत्व तहमा उल्लेख्य योगदान रहीआएको छ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलहरुमा उहाँका विद्युत, ऊर्जा सम्बन्धी अनुसन्धानात्मक आलेखहरु प्रकाशित छन् । डा. अधिकारीले अमेरिका, बेलायत, युरोप, जापान लागायत ३५जति राष्ट्रको भ्रमण गर्नुभएको छ ।अध्ययन, अध्यापन र अनुसन्धानमा विशेष रुची राख्नुहुने डा. अधिकारी काठमाडौं विश्वविद्यालय (स्कुल अफ म्यानेजमेन्ट) को स्नातकोत्तर तहलाई प्राध्यापन गराउँदै आउनुभएको छ ।राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलहरुमा जलविद्युत विकास, ग्रामीण विद्युतीकरण र नवीकरणीय ऊर्जामाउहाँका दर्जनौं अनुसन्धानात्मक प्राज्ञिक पेपरहरु, लेख रचना, अन्तर्वार्ताहरु, श्रव्यदृश्यहरु प्रकाशित छन् ।